वर्तमान सरकारले रोजगारको नाममा अरबौं झ्वाम पारेको कांग्रेस सभापति लिम्बुको आरोप

१९ श्रावण २०७६ | प्रदेश एक


विराटनगर, १९ साउन । नेपाली कांग्रेस मोरङका सभापति डिक बहादुर लिम्बुले वर्तमान सरकारले रोजगारको नाममा अरबौ रुपैयाँ झ्वाम पारेको आरोप लगाउनु भएको छ । बेरोजगारी समस्याका कारण हजारौं युवा विदेशिन बाध्य भईरहेको वर्तमान अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा राज्य ढुकुटीको चरम दुरुपयोग गरेको बताउनु भयो ।  

नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश १ को परिषद उद्घाटन गर्नुहुँदै यस्तो विचार राख्नु भएको हो । पहेंलो लुगा र हेल्मेट लगाएर सडक वरिपरिको झार उखेल्न लगाएर प्रधानमन्त्रीज्युले कस्तो रोजगारीको सृजना गराउन खोज्नु भएको हो ? प्रश्न गर्नु भयो । 

लिम्बुले थप्नु भयो गलत नियत नभएको भए साच्चिकै रोजगारीलाई दिगो र उत्पादनमुलक बनाइन्थियो तर त्यस्तो नभई कार्यकर्तालाई पोसाउन गलत नियात बमोजिम आएकोले हावामा राज्य कोषको दुरुपयोग गरेको बताउनु भयो । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय राईले वर्तमान सरकारले सबै क्षेत्रलाई आफ्नो नियन्त्रण र अन्कुसमा राख्ने सपना देखिरहेको बताउनु हुँदै अलोकतान्त्रिक शैलिको विरुद्ध र अनौपचारिक क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा लागु गराउन अभियान चलाउने चुनौती दिनु भयो । प्रदेश सभा सदस्य प्रकाश प्रसाद हाङवाङले सरकारले  श्रमिक अधिकार र महिलाको सुरक्षा गर्न नसकेको बताउनु भयो । 

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुवरले सरकार श्रमिकको हक हित संरक्षण गर्ने भन्दा पनि अन्यत्र कुराहरूमा रमाउन व्यस्त रहेको बताउनु भयो । सरकार प्रचलित ऎन कानुनको सुविधा , सामाजिक सुरक्षा र राज्य आफैले निर्धारण गरेको न्युनतम पारिश्रमिक लागु गर्न गम्भीर नदेखिएको आरोप लगाउनु भयो । 

यसैगरी बेरोजगारी समस्या अन्त गर्न युवाहरूलाई स्वदेशमै दीगो र मर्यादित रोजगारीको अवसर सृजना गर्नु पर्ने बेलामा घास र झार काट्न लगाएर अरबौ स्वहा पारेकोप्रती गम्भीर असहमति जनाउनु हुँदै वाच डकको रुपमा कार्यरत ट्रेड युनियनले यसको हिसाब किताब खोज्ने बताउनु भयो । साथै ट्रेड युनियन कांग्रेस संगठन विस्तार, सुदृढीकरण र परिचालनमा केन्द्रित रहेको जानकारी दिनु हुदै सम्पुर्ण संरचनाहरुलाई सोहि अनुरुप कार्य गर्न आग्रह गर्नु भयो । 

सहकोषाध्यक्ष शुशिला घिमिरेले सरकारले प्रचार गरे बमोजिम सामाजिक सुरक्षा लागु नगराउनुको कारण सोश्नु भयो । नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले अनौपचारिक क्षेत्रमा लागु नहुदा सम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजना कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हुने बताउनु भयो । कांग्रेस मोरङ सचिव भोजराज घिमिरेले श्रमिकका अधिकार कांग्रेसले मात्र संरक्षण गर्ने बताउनु भयो । नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले अनौपचारिक क्षेत्रमा अझै न्युनतम पारिश्रमिक लागु नभईरहेको बेला प्रधानमन्त्रीज्युको  नयाँ युग कहाँ आयो ? प्रश्न गर्नु भयो । ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य कमला शिवाकोटीले सरकारले युवाहरूलाई स्वदेशमै मर्यादित रोजगारी दिनु पर्ने विचार राख्नु भयो । पुर्व केन्द्रीय सदस्य तारा राईले श्रम अनुसारको दाम पाउनु पर्ने बताउनु भयो । 

झापा जिल्ला अध्यक्ष यज्ञ प्रताप अधिकारीले कांग्रेसको पालामा श्रमिक पक्षीय काम धेरै भए पनि प्रचार अरुले नै गरेको बताउनु भयो । परिषदले संगठन विस्तार, प्रशिक्षण, सदस्य सशक्तीकरण र सुदृढीकरण गर्ने प्रस्तावहरु पास गरेका छन् । कार्यक्रम प्रदेश १ का अध्यक्ष नारायणबाबु कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको विचार